भदौ २३ र २४ गते नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ ।
आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी (प्रहरी महानिरीक्षक) चन्द्रकुबेर खापुङ र काठमाण्डौका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो । अयोगले गएको कात्तिक २७ गते तीन जनामाथि विदेश भ्रमणमा रोक्का लगाएको थियो भने आयोगको स्वीकृतिविना काठमाण्डौ उपत्यका छाड्न रोक लगाएको थियो । आयोगले उनीहरूको बयान लिएपछि स्थानहद फुकुवा गरेको हो ।
आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको बयानका लागि शुक्रवार उपस्थित हुन पत्र पठाएको छ । त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारी रहेको आयोगले जनाएको छ ।
यसैबीच आज एमालेको पार्टी केन्द्रीय कार्यालयको अनुगमन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्ने सङ्केत गरेका छन ।