सुचना, समाचार र मनोरन्जन

‘मिरमिरे’को ट्रेलर : दयाहाङ, प्रकाश र सिर्जनाको त्रिकोणात्मक प्रेमकथा

काठमाडौं :

नेपाली फिल्म ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले बुवा र छोरीबीचको भावनात्मक सम्बन्ध, आमाविहीन सन्तानको पीडा तथा श्रीमतीविहीन श्रीमान्को रित्तोपनलाई केन्द्रमा राखेको छ। श्रीमती नभएको घर, आमा नभएका सन्तान र परिवारमा आमाको अभावले सिर्जना गर्ने भावनात्मक खालीपन ट्रेलरमा देखाइएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा आमाविहीन छोरीको पालनपोषण गर्दै आएका बुवा र छोरीबीचको आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ। आमाले घर छोडेपछि छोरीले महसुस गर्ने अभाव,आमाको महत्व र मातृत्वको आवश्यकतालाई ट्रेलरले स्पष्ट रूपमा उजागर गरेको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचन को अभिनय देख्न सकिन्छ । दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूतबीचको त्रिकोणात्मक प्रेमकथालाई ट्रेलरमा चित्रण गरिएको छ। आमाको अभाव महसुस गरिरहेकी छोरीलाई मातृत्व प्रदान गर्ने दयाहाङ राईको प्रयासले ट्रेलरलाई थप भावनात्मक बनाएको छ।

एकअर्कालाई पाउने चाहना कसरी क्रमशः विकसित हुँदै जान्छ, पात्रहरूका भावनात्मक द्वन्द्व कसरी उजागर हुन्छन्, नुमाले आफू आमा होइन भन्ने यथार्थ थाहा पाएपछि दिने प्रतिक्रिया तथा आमाको वास्तविकता पत्ता लगाउन गरिएको संघर्ष ट्रेलरमा देखाइएको छ।

यम शेर्पा को लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यार्सा फिल्म्स को प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा रहेका छन् भने गोविन्द बोहरा र सुदीप कुँवर सह–निर्माताका रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्माता मा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। फिल्म ‘मिरमिरे’ को देशभरको वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठ को आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.