काठमाडौं :
माघ २३ गते प्रदर्शनमा आउने फिल्म ‘कुमारी’ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी फिल्मको होर्डिङ बोर्ड राखिएको हो।
३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ। नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’को पोस्टर नै सबैभन्दा ठुलो भएको दाबी निर्माण पक्षले गरेको छ। धरानको व्यस्त क्षेत्रमै राखिएको विशाल पोस्टरले फिल्मप्रति दर्शकको ध्यान तानिरहेको छ।
हाल फिल्मको गीत ‘डोको बुन्ने निगाली चोयाले’ व्यापक चर्चामा छ। यस गीतका गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै फिल्मले पाँच सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिरहेको छ। कन्सर्ट अन्तर्गत नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ कन्सर्ट आयोजना गरिनेछ। कन्सर्टमा ब्यान्डसँगै फिल्मका प्रमुख कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको समेत सहभागिता रहनेछ। यस फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् भने लगानी महेन्द्र अधिकारीले गरेका छन्।