काठमाडौं :
नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ लन्च भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उक्त ओटीटी प्लेटफर्मको शुभारम्भ गरेका हुन्।
ओटीटी शुभारम्भसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकले अब ओटीटीमार्फत सामग्री हेर्न पाउने सुविधा सुरु भएको छ। यससँगै युएनए डिजिटलले विश्व बजारमा पनि आफ्नो पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।
यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्ज्वल गुरागाईं हुन्। उनका अनुसार दर्शकले फेब्रुअरी १ (१८ माघ) देखि यस ओटीटीमा फिल्म, शो तथा ओरिजिनल सिरिज हेर्न पाउनेछन्। फेब्रुअरी १ देखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसँगै ब्राउजर तथा टिभी संस्करणसमेत प्रयोग गर्न सक्ने उनले जानकारी दिए।
उनले भने, “हामीले यो ओटीटी सुरुवात गरेका छौं। यसले नेपाली फिल्म तथा निर्मातालाई जोगाउँछ, डुबाउँदैन। त्यसकै लागि नयाँ युगको सुरुवात गरिएको हो।”
यस ओटीटीमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’ तथा अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’ हेर्न पाउनेछन्। निर्माण पक्षका अनुसार सलोन बस्नेतले निर्माण गर्न लागेको उक्त फिल्म ओटीटी प्लेटफर्ममार्फत रिलिज हुने पहिलो फिल्म हुनेछ। साथै, सीइओ गुरागाईंले नै निर्माण गर्न लागेको फिल्म ‘रियल रिदम’ पनि यही ओटीटीमा समावेश गरिनेछ।
यसै कम्पनीले निर्माण गरेको सिरिज ‘चोइस’, ‘सिनेपट न्युज’, आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’ तथा ‘काठमाडौं नाइट’ पनि युएनए डिजिटलमार्फत प्रसारण हुनेछन्।
नेपाल र विदेशका दर्शकका लागि छुट्टाछुट्टै ‘ओटीटी विन्डो’सहित सामग्री क्रमशः ल्याउने तयारी भइरहेको सीइओ गुरागाईंले बताए। उनका अनुसार ओटीटीको औपचारिक सुरुवात १४ फेब्रुअरीदेखि हुनेछ भने सब्सक्रिप्सन शुल्कबारेको जानकारी चाँडै सार्वजनिक गरिनेछ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी प्लेटफर्म खुलेकोमा बधाई दिँदै यसलाई राम्रो कामको सुरुवात भएको बताए। उनले भने, “हामी क्रियटिभ मानिसहरू चरा जस्तै हौं। आकाशमा उड्दा चराहरू आपसमा ठोक्किए पनि आ–आफ्नै उडान हुन्छ। युएनए डिजिटलको उडान यहाँबाट सुरु भएको छ, यस उडानलाई शुभकामना।”
शुभकामना दिन पुगेका अभिनेता तथा निर्माता दीपकराज गिरीले यस्ता ओटीटी प्लेटफर्म फिल्मकर्मीका लागि अत्यन्त आवश्यक रहेको बताए।
उनले भने, “विदेशमा एउटा निर्माता हलभन्दा ओटीटी प्लेटफर्मबाट बढी आम्दानी गर्छ। हाम्रो उद्योग अगाडि बढिरहेको अवस्थामा यस्ता प्लेटफर्म आउनु लगानीकर्ताका लागि उत्साहजनक कुरा हो।”
आयोजित समारोहमा सञ्चारमन्त्री जगदीश खरेलले युएनए डिजिटलले बदलिँदो प्रविधि र दर्शकको रुचिलाई सम्बोधन गर्नुपर्ने बताए। उनले भने, “यसलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। दर्शकले खोजेको कुरा भनेको कन्टेन्ट हो। फिल्म बनाउनुहोस्, समाचार बनाउनुहोस्, टेलिभिजन कार्यक्रम वा अन्तर्वार्ता बनाउनुहोस्—महत्वपूर्ण भनेको कन्टेन्ट नै हो।”
उनले ओटीटी प्लेटफर्ममा राम्रो कन्टेन्ट भए राम्रोसँग चल्ने सुझाव पनि दिए। युएनए डिजिटल ओटीटीले सुरुवातमा ६ करोड रुपैयाँ लगानीसहित कन्टेन्ट निर्माण तथा प्रसारण गर्न लागेको हो। साथै यस प्लेटफर्ममा नेपाली सामग्रीका अतिरिक्त भारतीय, बंगलादेशी र जापानी सामग्री पनि क्रमशः रिलिज गरिने सीइओ गुरागाईंले जानकारी दिए।