सुचना, समाचार र मनोरन्जन

२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौँ,

सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आइएको छ । सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक ई। रवीन्द्र बोहराले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूलाई यो दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन जारी भइसकेको जानकारी दिए ।

भूकम्प सुरक्षा दिवसका बारेमा जानकारी दिन सोमवार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक बोहोराले देशव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने कार्यक्रम रहेको बताए ।

महानिर्देशक बोहोराले भने– ‘सबै तहका सरकार, सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरी २८ औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौँ महानगरपालिका स्थित खुल्ला मञ्चमा आयोजना गरिनेछ । यस दिन वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरूले लामबद्ध भई भूकम्प सुरक्षा र्‍यालीमा भाग लिनेछन् ।’

महानिर्देशक बोहोराले विपद्का बेला जनधनको क्षति मुख्य रूपमा कमजोर घर वा संरचना भत्केर हुने गरेको बताए । उनकाअनुसार जसकारण देशको समग्र विकास स्थितिलाई निकै पछाडि धकेलिदिन्छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने भएकाले यो नै सशक्त पूर्व तयारी रहेको बताए ।

उनकाअनुसार भूकम्प पश्चातको सम्भाव्य अवस्थालाई पूर्व आकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवं तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी रहेको छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चात्को पुनर्स्थापना सम्मका विभिन्न कार्यहरू विभिन्न निकायहरूबाट निरन्तर रूपमा भइरहेका समेत बोहोराले बताए ।

Leave A Reply

Your email address will not be published.