काठमाडौं :
गायक यम बरालको स्वरमा रहेका तीन वटा नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक गरिएको छ। आयोजित कार्यक्रममा ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ गीत तथा तिनका भिडियो सार्वजनिक गरिएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र वरिष्ठ पत्रकार ऋषि धमलालगायतको उपस्थिति थियो।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरि’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतको भिडियो केशव राज भट्टले निर्देशन गरेका हुन्। भिडियोमा अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन तथा जुना कार्की र गायक बरालको अभिनय छ।
दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ। भिडियोको निर्देशन गीतकार बराल स्वयंले गरेका हुन्। भिडियोमा यम बरालसहित श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ। भिडियोमा बिक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन छ।
त्यस्तै तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीकै संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र यम बराल स्वयंको अभिनय देख्न सकिन्छ। भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन रहेको छ।
कार्यक्रममा बोल्दै गायक यम बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताएका छन्। ३५ वर्षदेखि निरन्तर संगीतकर्ममा सक्रिय रहेका उनले आफू प्रचारभन्दा साधनालाई प्राथमिकता दिने कलाकार भएको बताए।
कार्यक्रममा बोल्ने वक्ताहरूले यम बरालको सांगीतिक योगदान, गायकी तथा सार्वजनिक गीतहरूको कलात्मक पक्षको प्रशंसा गरेका थिए। कार्यक्रममा गीतकार संघ, चलचित्र पत्रकार संघ, एनआरएनएलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संगीतकर्मीहरूको उपस्थिति रहेको थियो।
तस्विरः मोहम्मद जलिम