सुचना, समाचार र मनोरन्जन

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द

 

हुम्ला : हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ। अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो।

 

यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरू आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताए।

 

उनले चीनको ताक्लकोटबाट सामानहरू आयात हुन छोडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरू जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिए।

 

यस वर्ष हिमपात नभए पनि नारा सडकखण्ड गएको गत कात्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ। यसको कारण चीनको ताक्लाकोटबाट सामानहरू आयात हुनसमेत छोडेको प्रमुख जैसीले बताए। कारोबार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेका हुन्।

 

चीनतर्फको नाकालाई खुल्लै राखेको भन्सार कार्यालयका प्रमुख जैसीले बताए। उनका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउनेछ। गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले १८ लाख ६५ हजार रुपैयाँ राजस्व असुली गरेर गत वर्षको भन्दा यस वर्ष कार्यालयले दोब्बर राजस्व उठाएको बताए।

Leave A Reply

Your email address will not be published.