सुचना, समाचार र मनोरन्जन

प्रतिकूल मौसमको सामना गर्दै ‘रोल नं. १’ को पहिलो चरण छायांकन सम्पन्न

काठमाडौं :

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य भाग खिचिएको हो।

दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो। प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए।

निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो।

पौडेल भन्छन्, “हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, तर ४२ दिनमै म्याग्दीको सेड्युल सम्पन्न गर्न सफल भयौं। कलाकारहरूभन्दा पनि प्राविधिक टोलीलाई चिसोले बढी कठिनाइ भयो। विशेषगरी रात्रिकालीन दृश्यहरू खिच्दा राति १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न चुनौतीपूर्ण हुन्थ्यो।”

उनले थपे, “सिनेमा उत्कृष्ट बनाउन हामीले कुनै सम्झौता गरेका छैनौं। केही दिन आराम गरेर बाँकी काम सुरु गर्नेछौं।”

केही दिनको विश्रामपछि काठमाडौँका बाँकी दृश्यहरू पनि चाँडै खिचिने निर्माता पौडेलले बताएका छन्। जोन योञ्जनको निर्देशन तथा कथामा निर्माण भइरहेको यो चलचित्र पूर्ण रूपमा ‘बाल मनोविज्ञान’मा आधारित छ। चलचित्रको कथावस्तु विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ।

गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा कक्षाकोठामा हात उठाएर उपस्थिति जनाइरहेको एक बालकको मार्मिक दृश्य देखाइएको थियो, जसले दर्शकको ध्यान खिचेको थियो।  चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन्। बाल शिक्षा र मनोविज्ञानजस्तो गम्भीर विषयलाई व्यावसायिक सिनेमाको ढाँचामा प्रस्तुत गर्न लागिएको ‘रोल नं. १’ लाई अर्थपूर्ण चलचित्रका रूपमा हेरिएको छ।

चलचित्रको प्रदर्शन मिति हालसम्म तय गरिएको छैन। छायांकनपछि पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भएपछि मात्र रिलिज मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ।

Leave A Reply

Your email address will not be published.