काठमाडौं :
चलचित्र ‘मिरमिरे’को सार्वजनिक ट्रेलरमा एक बाल कलाकारको प्रभावशाली उपस्थिति देखिएको छ। अभिनेता दयाहाङ राईसँग समानान्तर रूपमा देखिएकी ती बाल कलाकार दयाहाङकी छोरीको भूमिकामा प्रस्तुत भएकी छन्।
दयाहाङ राईकी छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्—शाइसा गौचन। आमाको अभाव महसुस गरिरहेकी छोरीको संवेदनशील भूमिकामा उनी देखिएकी छन्। सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किएकी छोरीको कथा ट्रेलरमार्फत उजागर गरिएको छ।
ट्रेलरमा आमाको अभावले सिर्जिएको पीडा र भावनालाई शाइसाले गरेको अभिनयलाई दर्शकले यतिबेला मन पराइरहेका छन्। पोखराकी शाइसाका लागि ‘मिरमिरे’ डेब्यु चलचित्र भने होइन। यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ चलचित्रमा छोटो भूमिका निर्वाह गरिसकेकी छन्।
“यसअघिका चलचित्रमा पनि शाइसाले दयाहाङसँगै काम गरिसकेकाले ‘मिरमिरे’मा काम गर्न सहज भयो,” चलचित्रका लेखक तथा निर्देशक यम शेर्पाले भने, “दयाहाङ दाइसँग पहिल्यै घुलमिल नभएको भए सुरुवाती दिनमा काम गर्न कठिन हुन्थ्यो।”
यम शेर्पाले शाइसाको अभिनय दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताए। बच्चादेखि सबै उमेर समूहका दर्शकले उनको अभिनय मन पराउने विश्वास उनले व्यक्त गरे।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले लिएको छ।