काठमाडौं :
पछिल्लो समय दर्शकमाझ चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ। आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो।
हाँस्यकलाकार मरिचमान श्रेष्ठ द्वारा निर्देशन र मुख्य अभिनय गरिएको ‘गोबर गणेश’ अब स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन्।
चलचित्रको कथावस्तु पढ्न नसकेपछि काठमाडौं आएर जीवन बदल्न संघर्ष गर्ने एक गाउँले युवकको जीवनमा आधारित छ। उनको संघर्ष, चुनौती र सफलता दर्शकले चलचित्रमार्फत सहजै बुझ्न सक्नेछन्।
पोस्टर, ट्रेलर र गीतले पहिले नै राम्रो हाइप पाइसकेको छ। निर्देशक मरिचमान श्रेष्ठ ले सेन्सर बोर्डका सदस्यहरूले फिल्मको गुणस्तर र मनोरञ्जनियताप्रति सकारात्मक प्रतिक्रिया दिएको बताए।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ।
तारानाथ न्यौपाने चलचित्रका चिफ एडी हुन्। योगेश काजी शाह को बीजीएम, शंकर पाण्डे को प्रोडक्सन, शिवराम श्रेष्ठ को डीओपी र विपीन मल्ल को सम्पादन रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियो ले गरेको छ। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको चलचित्र नेपालभर श्री ब्याकटेस इन्टरटेनमेन्ट द्वारा वितरण हुनेछ।