सुचना, समाचार र मनोरन्जन

काकुको ‘परान’ले मनायो ७५औं दिन,अब फिल्म हेर्ने दर्शकलाई टिकटमा ७५ रुपैयाँ छुट

काठमाडौँ :

फिल्म ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ। सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ।

‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ चलचित्रका निर्माता रन्जित आचार्यले भने, ‘परान हेर्न बाँकी हुनु भएका दर्शकहरुलाई हेर्न आग्रह गर्दछु ।’ यो छुटको ब्यवस्था केहिदिनका लागी गरिएको हो ।

निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरुका लागी मात्र ब्यवस्था गरिएको हो। खल्ती एपबाट टिकट काट्दा ७५ रुपैंया क्यासब्याक पाउन सकिनेछ । ‘परान’को आज (मंगलबार) काठमाडौंमा मात्रै पनि पाँचवटा शो रहेको थियो । खल्ती एपमा भोलीका लागी पनि ६ वटा शो उपलब्ध छन् ।

साथै ‘परान’को कलाकार तथा निर्माण टिमले आज साँझ सिटी स्वियरमा ४ बजेको शो हेरिरहेका दर्शकमाझ केक काटेर ७५ औं दिनको सेलिब्रेशन गर्दैछ। ‘परान’ले पछिल्लो शनिबार (७२ औं दिन)सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैंया कलेक्सन गरेको चलचित्र बिकाश बोर्डले तथ्यांक सार्वजनिक गरिसकेको छ ।

‘परान’ फिल्मलाई दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.