काठमाडौँ :
बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ र बृत्तचित्र ‘तान्त्रिक डान्स’ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।
महोत्सवमा ३२ देशका ७४ चलचित्र सहभागी थिए। नेपालबाट तीन लघु चलचित्र र एक बृत्तचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका थिए।
गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ लाई ‘इन्टरनेशनल सर्ट इन्डोर’ विधा अन्तर्गत ‘अनरेबल मेन्स अवार्ड’ प्रदान गरिएको छ। निर्देशक क्षत्री, अभिनेता प्रवण भुसाल, अभिनेत्री एवं गायिका सरिता भारती, र मेकअप आर्टिस्ट बिना राना मगर पुरस्कार ग्रहण गर्न महोत्सवमा सहभागी भएका थिए। यस लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारी लगायतको मुख्य भूमिका रहेको छ।
त्यसैगरी, नेपालबाटै चलचित्र निर्देशक केपी पाठक निर्देशित बृत्तचित्र ‘तान्त्रिक डान्स’ लाई पनि अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेन्स अवार्ड’ बाट सम्मानित गरिएको छ। यो बृत्तचित्र कात्तिक नाच मा आधारित छ। नेपालका यी चलचित्रहरू महोत्सवको उद्घाटन समारोहमा बंगलादेश प्रिमियर पनि भएका थिए। पुण्ड्रनगर फिल्म सोसाइटी बोगरा ले आयोजना गरेको महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्स मा तीन दिनसम्म चलेको थियो। बुधबारबाट सुरु भएको महोत्सव शनिबार राति अवार्ड वितरण गर्दै सम्पन्न भएको थियो।
निर्णायकमा नेपालबाट सन्तोष सुवेदी (नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबल अध्यक्ष) सहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खंडेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायांकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत रहेका थिए।
महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेन र बंगलादेशका चलचित्रकर्मी सहभागी थिए। महोत्सवमा आधा दर्जन अन्तरक्रिया र मास्टर क्लास पनि सञ्चालन गरिएको थियो। महोत्सव निर्देशक सुपिन बर्मन का अनुसार, बंगलादेशमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमध्ये यो दोस्रो ठूलो महोत्सव हो। महोत्सव अध्यक्ष एम. रहमान सागर ले सरकारबाट कुनै आर्थिक सहयोग नहुँदा पनि महोत्सव निरन्तर सञ्चालन हुँदै आएको बताए।