सुचना, समाचार र मनोरन्जन

‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आइपुगे, हिमाल भ्रमणमा उत्साहित

काठमाडौं :

‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी छन्। सरादत्तको स्वागत गर्न मिस्टर एन्ड मिस नेसनल का राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्याय सहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए। उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन्। मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै सरादत्तले नेपालका हिमालप्रति विशेष आकर्षण रहेको उल्लेख गरिन्। उनले भनिन्, “पहिलोपटक नेपाल आएकोमा निकै खुसी लाग्यो। यहाँका माउन्टेनबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु।”

सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोब फिनाले मा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज पहिरिएकी थिइन्। उक्त प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतिस्पर्धी सहभागी थिए। नेपालबाट भने रिजु भट्टराई ले प्रतिनिधित्व गरेकी थिइन्।

डा. सन्तोष उपाध्याय का अनुसार सरादत्त र उनको टोलीको नेपाल बसाइँ पाँच दिनको हुनेछ। यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्नेछन्। साथै औपचारिक भेटघाटका कार्यक्रमसहित विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने तालिका पनि तय गरिएको छ।

औपचारिक भेटघाट अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र सम्भव भए प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्। त्यस्तै, उनी ईस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा विशिष्ट अतिथिका रूपमा सहभागी हुने छिन्।

गत वर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आएकी थिइन्। उनले मिस नेसनल नेपालको अडिसनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन्। यसैबीच, मिस नेसनल नेपालको यस वर्षको आवेदन प्रक्रिया खुलिसकेको छ, जसका लागि खल्तीमार्फत आवेदन दिन सकिनेछ।

Leave A Reply

Your email address will not be published.