सुचना, समाचार र मनोरन्जन

परिवर्तन’को ट्रेलरलाई ३ तीनमै ११ लाखभन्दा बढि भ्युज,निर्माण पक्ष उत्साहित

काठमाडौं :

फिल्म ‘परिवर्तन’को ट्रेलरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । गत सोमबार सार्वजनिक गरिएको ट्रेलर हालसम्म ११ लाख २९ हजारभन्दा बढी पटक हेरिएको छ । समाचार तयार पार्दासम्म ट्रेलरलाई करिब १६ हजारले लाइक गरेका छन् भने १ हजार २३३ जना भन्दाबढिले  प्रतिक्रिया जनाएका छन् ।

दर्शकको प्रतिक्रियामा अधिकांशले ट्रेलरलाई मन पराएको उल्लेख गरेका छन्। कमेन्टकर्ता पल साउदले फिल्मका अभिनेता सुशील श्रेष्ठको एक्सनको प्रशंसा गरेका छन् । उनले लेखेका छन्, “सुशील श्रेष्ठका फ्यानहरू को–को हुनुहुन्छ, हाजिर हुनु त। मुभी सुपरहिट हुन्छ।” उनको उक्त कमेन्टलाई चार जनाले थप प्रतिक्रिया दिएका छन् भने २३१ जनाले लाइक गरेका छन् ।

अर्का कमेन्टकर्ता सरोज तिमिल्सेनाले फिल्मका संवाद मन परेको उल्लेख गर्दै लेखेका छन्, “क–कसले हेर्दै हुनुहुन्छ, हाजिर हुनुस् । ‘परिवर्तन’— ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’ आगो।” उनको कमेन्टलाई ११८ जनाले लाइक गरेका छन् भने एक जनाले प्रतिक्रिया जनाएका छन्।

त्यस्तै, कमेन्टकर्ता गोपाल खड्काले सुवास मेचेको अभिनय मन परेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, “सुवास मेचेलाई देखेर खुसी हुने हाजिर हुनुस् त।”

यी प्रतिक्रियाले फिल्म ‘परिवर्तन’ ले दर्शकमाझ राम्रो हाइप बनाइसकेको देखिन्छ। ट्रेलरप्रति प्राप्त प्रतिक्रियाबाट निर्माण पक्ष पनि उत्साहित देखिएको छ । ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य तथा पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । सत्ताको आडमा आम मानिसमाथि हैकम चलाउनेहरूको अन्ततः पतन हुन्छ भन्ने सन्देश निर्देशकले ट्रेलरमार्फत दिन खोजेका छन्।

फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ। पछिल्लो समय उनलाई दर्शकले एक्सन स्टारका रूपमा लिन थालेका छन्। फिल्ममा अभिनेत्री अञ्जना बराइलीसँग उनको केमेस्ट्री पनि देख्न सकिन्छ । अञ्जना प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन्, जुन उनको फरक र सशक्त भूमिका मानिएको छ।

दर्शकको सकारात्मक प्रतिक्रियाबाट खुसी देखिएका अभिनेता सुशील श्रेष्ठले प्रतिक्रिया दिँदै भने, “एकदमै राम्रो लागेको छ। अडियन्सको फिडब्याकले झन् उत्साहित बनाइरहेको छ ।” टिजर र ट्रेलरबाट पाएको प्रतिक्रियाले आफू अझै आशावादी बनेको उनको भनाइ छ।

प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी अभिनेत्री अञ्जना बराइली पनि दर्शकको प्रतिक्रियाले उत्साहित देखिएकी छन्। उनले भनिन्, “परिवर्तनलाई लिएर म आशावादी छु। साथै अलिकति डर पनि छ, किनभने मैले फरक भूमिका निर्वाह गरेकी छु र फिल्मको कन्टेन्ट नै देशको अवस्थासँग जोडिएको छ । त्यसैले उत्साहितसँगै नर्भस पनि छु ।”

ट्रेलरमा सुशील र अञ्जनाका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायत कलाकारलाई पनि देख्न सकिन्छ।

फिल्मका निर्देशक विजय केरुङ पनि ट्रेलरप्रति प्राप्त प्रतिक्रियाबाट खुसी देखिएका छन्। उनका अनुसार फिल्मले एक्सनसँगै बलियो सामाजिक सन्देश बोकेको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन फिल्मका मुख्य पक्ष हुन्।फिल्म ‘परिवर्तन’ यही माघ ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने डिजिटल सहकार्य ओएसआर डिजिटलले गरेको छ।

Leave A Reply

Your email address will not be published.