सुचना, समाचार र मनोरन्जन

‘राउन्ड फेवा भ्यू ट्रेल’ प्रति पर्यटकीय आकर्षण

पोखरा,
फेवातालको किनारैकिनार फैलिएको हरियाली रानीवन, विश्व शान्ति स्तूपको शान्त वातावरण तथा माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यलाई एउटै पदयात्रामा अनुभूति गर्न सकिने ‘राउन्ड फेवा भ्यू ट्रेल’ पछिल्लो समय पोखराको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै पर्यटन क्षेत्रका सरोकारवालाले यसलाई उत्कृष्ट ‘वार्म–अप हाइकिङ ट्रेल’का रूपमा विकास गर्न सकिने बताएका छन् । पोखराको लेकसाइडबाट सुरु भई ड्यामसाइड, फेवातालपारिको रानीवन क्षेत्र, विश्व शान्ति स्तूप हुँदै पुनः लेकसाइड मै टुङ्गिने करिब १३ किलोमिटर लामो यो पदमार्ग प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले महत्वपूर्ण मानिएको छ । पछिल्ला वर्षमा छोटो समयमै ताल, हिमाल, जङ्गल र ग्रामीण परिवेशको अनुभव लिन सकिने भएकाले यो पदमार्ग पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पोखरा आउने अधिकांश विदेशी पर्यटक हिमाली पदयात्रा तथा ट्रेकिङमा रुची राख्ने भएकाले राउन्ड फेवा भ्यू ट्रेललाई ‘वार्म–अप हाइकिङ ट्रेल’का रूपमा विकास गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार तीनदेखि चार घण्टाको पदयात्रामा फेवाताल, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका साथै चराचुरुङ्गी, वनस्पति र सुनाखरीको सौन्दर्यको आनन्द लिन सकिनेछ ।  “हिमाली पदयात्रामा जानुअघि छोटो दूरीको अभ्यास पदयात्रा आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “यो पदमार्ग त्यही उद्देश्यका लागि उपयुक्त छ र पर्यटकलाई पोखराको प्राकृतिक तथा सांस्कृतिक विविधताको अनुभव दिलाउन सक्छ ।”
हाल दैनिक १०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले पदमार्ग प्रयोग गरिरहेको तथ्याङ्क छ । पदमार्गको लोकप्रियता बढ्दै गए पनि पूर्वाधार अभाव चुनौतीका रूपमा रहेको स्थानीयको भनाइ छ ।
त्यस क्षेत्रका केही काठे पुल जीर्ण बनेको ठाउँठाउँ रुख ढलिरहेको तथा सुरक्षाका लागि रेलिङ आवश्यक रहेको उहाँको पर्यटन व्यवसायी बताउँछन् । टान गण्डकीका पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि भुजेलले पोखराको पर्यटन विविधिकरणमा यस्ता पदमार्गको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा राउन्ड फेवा भ्यू ट्रेलको अवधारणा अघि सारिएको स्मरण गर्दै अहिले यसको संरक्षण र स्तरोन्नतिप्रति बढ्दो चासो देखिनु सकारात्मक भएको बताउनुभयो ।
“पोखरा केवल ताल र हिमालको दृश्य हेर्ने शहर मात्र होइन, पदयात्रा र प्रकृतिमा आधारित पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो,” उहाँले भन्नुभयो, “यो पदमार्गले छोटो समय भएका पर्यटकलाई समेत गुणस्तरीय अनुभव प्रदान गर्न सक्छ, यसलाई ‘वार्म–अप हाइकिङ ट्रेल’रुपमा विकास गर्न सकिन्छ ।”
गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछानेले पर्यटनलाई वर्षभरि चलायमान बनाउन नयाँ पर्यटन उत्पादन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार ‘राउन्ड फेवा भ्यू ट्रेल’ ले प्रकृतिमा आधारित ‘सफ्ट एड्भेन्चर’ पर्यटनको राम्रो सम्भावना बोकेको छ । फेवाताल, रानीवन र हिमालको दृश्यलाई जोड्ने यो पदमार्ग पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उत्पादन बन्न सक्ने उहाँको विश्वास छ । उहाँले “वार्म–अप हाइकिङ ट्रेल” को अवधारणालाई यो पदमार्गमा जोडेर प्रचार प्रसार गर्न सके पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटकको बसाइ अवधि लम्याउन र छोटो समयका लागि पोखरा आउने पर्यटकलाई प्रकृतिको अनुभव दिलाउन “वार्म अप टे«ल”को रुपमा पदयात्रालाई विकास गर्न सकिने बताउनुभयो ।
उहाँले स्थानीय तह, समुदाय र सरोकारवाला संस्थाबीचको सहकार्यबाट पदमार्गलाई अझ व्यवस्थित र आकर्षक बनाउन सकिने बताउँदै पर्यटन प्रवर्द्धनसँगै पर्यटक सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी व्यवस्थापनमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका–२२ का अध्यक्ष हिमलाल बरालले राउन्ड फेवा भ्यू ट्रेल तथा पुम्दीभुम्दी पदमार्गको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र एसियाली विकास बैंक ९एडिबी० बीच भएको सम्झौताअनुसार विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जीर्ण पुलको पुनःनिर्माण, रेलिङ जडान, पदमार्ग मर्मत, सार्वजनिक शौचालय निर्माण, विश्रामस्थल विकास तथा दृश्यावलोकनका संरचना निर्माणलगायतका काम योजनामा समेटिएका छन् । ड्यामसाइडदेखि पुम्दीकोटसम्म केही पूर्वाधार निर्माण भइसकेको र बाँकी काम एडिबीको सहयोगमा अघि बढ्ने तयारी रहेको बताउँदै उहाँले भन्नुभयो, “डिपीआर तयार भएपछि आवश्यक बजेटको यकिन हुने र आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु हुने अपेक्षा गरिएको छ ।”
अध्यक्ष बरालले पदमार्गको विकासले स्थानीय व्यवसाय, होटल, कृषि उत्पादन तथा सामुदायिक आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन व्यवसायीले सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई आवश्यक बजेट विनियोजन गरी पुल, रेलिङ तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
उहाँहरुका अनुसार, ‘राउन्ड फेवा भ्यू ट्रेल’ पोखराको नयाँ पर्यटकीय पहिचानका रूपमा स्थापित गर्न सकिए विदेशी पर्यटकका लागि नेपाल प्रवेशपछिको उत्कृष्ट ‘वार्म–अप हाइकिङ ट्रेल’ बन्न सक्ने  सम्भावना छ ।
Leave A Reply

Your email address will not be published.