काठमाडौं :
कठ्याङ्ग्रीदो जाडो र शीतलहरका बीच पनि गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ का कन्सर्टमा दर्शकको उत्साह कम भएको छैन। पुष–माघको चिसो मौसमलाई बेवास्ता गर्दै देशका विभिन्न स्थानमा आयोजित कन्सर्टहरूमा उल्लेख्य दर्शकको उपस्थिति देखिएको छ।
शुक्रबार स्याङ्जाको चापाकोटमा आयोजित कन्सर्टमा करिब १५ हजार दर्शक सहभागी भए। चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमोद खरेल १० वर्षपछि चापाकोटमा प्रस्तुत भएका हुन् । चिसोका बाबजुद दर्शक अन्तिम समयसम्म मैदानमै बसेर उनका हिट गीतमा साथ दिएका थिए ।
चापाकोटपछि शनिबार रुपन्देहीको देवदहमा आयोजित कन्सर्टमा पनि ब्याण्डले प्रस्तुति दियो, जहाँ जाडो मौसमकै बीच उत्साहजनक भीड देखियो। आइतबार चितवनको गाञ्जीपुरमा आयोजित ल्होसार कन्सर्टमा प्रस्तुति दिएको ब्याण्ड सोमबार पनि चितवनमै गुञ्जिने कार्यक्रम छ।
ब्याण्डको आगामी कार्यक्रम तालिकाअनुसार १४ माघमा झापाको भद्रपुर,१८ माघमा सिन्धुलीमाढी, २५ माघमा स्याङ्जाको वालिङ र ६ फागुनमा उदयपुरको गाइघाटमा कन्सर्ट तय भएका छन्। यसका साथै नेपालगञ्ज, महेन्द्रनगर र भोजपुरलगायत स्थानमा पनि कन्सर्टको तयारी भइरहेको जानकारी प्रमोद खरेलले दिएका छन्।
लगातारको सांगीतिक व्यस्तताबीच प्रमोद खरेल टेलिभिजनको लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शो राउन्डमा जजका रूपमा समेत सक्रिय छन्। सप्ताहन्तमा प्रसारण हुने शो र देशव्यापी कन्सर्ट तालिकाका बीच पनि पुष–माघको जाडोमा दर्शकको भिड उस्तै रहनु प्रमोद खरेलको लोकप्रियताको संकेतका रूपमा हेरिएको छ।