काठमाडौं :
अमेरिकी भिसा नीतिमा गरिएको कडाइका कारण अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमहरू गम्भीर आर्थिक संकटमा परेका छन्। हालै लागू गरिएको यात्रा प्रतिबन्ध र नयाँ भिसा नियमका कारण न्यूयोर्कमा आयोजना हुन लागेको एक प्रमुख अन्तर्राष्ट्रिय थिएटर महोत्सवले मात्रै करिब १ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी घाटा बेहोर्नुपरेको छ ।
न्यूयोर्कको ‘अण्डर द राडार’ फेस्टिभलमा सहभागी हुन लागेको बेलायती थिएटर समूह ‘क्वारन्टाइन’ का दुई सदस्यको भिसा अन्तिम चरणमा रोकिएपछि समूहको प्रस्तुति रद्द भएको हो । ती दुई कलाकार बेलायती नागरिक भए पनि उनीहरूको जन्म नाइजेरियामा भएको आधारमा भिसा प्रक्रिया अवरुद्ध गरिएको आयोजकले जनाएको छ।
अमेरिकी प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै लागू गरेको नयाँ नियमअनुसार ‘उच्च जोखिम’ सूचीमा रहेका ४० देशमध्ये कुनै एक देशमा जन्मिएका कलाकार अन्य देशको नागरिक भए पनि भिसा रोकिने व्यवस्था गरिएको छ। यही नीतिले सांस्कृतिक आदान–प्रदानका कार्यक्रमहरू प्रत्यक्ष प्रभावित बनेका छन्।
भिसा रद्दसँगै टिकट बिक्री, प्रवर्द्धन, प्राविधिक तयारी र अतिथि व्यवस्थापनमा गरिएको सम्पूर्ण लगानी डुबेको आयोजकको भनाइ छ। आयोजकका अनुसार एक समूहको भिसा समस्याले मात्रै महोत्सवको समग्र आर्थिक संरचनामा गम्भीर धक्का पुगेको छ।
यसैबीच, भिसा प्रक्रियामा बढाइएको शुल्क र लामो प्रशासनिक जाँचका कारण अन्य अन्तर्राष्ट्रिय कलाकारहरू पनि अमेरिका प्रवेश गर्न नसकेको बताइएको छ। यदि यस्तो अवस्था निरन्तर कायम रह्यो भने अमेरिकाको सांस्कृतिक बजार,लाइभ पर्फमेन्स आर्टस र अन्तर्राष्ट्रिय महोत्सवहरू आर्थिक रूपमा कमजोर बन्दै जाने सरोकारवालाहरूको चेतावनी छ।