सुचना, समाचार र मनोरन्जन

१४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल : ‘अञ्जिला’ र ‘द मंकी’ सर्वोत्कृष्ट

काठमाडौँ :

१४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NAIFF) सम्पन्न भएको छ । फेस्टिभलको नेपाल पानोरामा अन्तर्गत अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।

चलचित्र विकास बोर्डको सहकार्य तथा कलेज अफ मास कम्युनिकेशन र बिलक्षण क्रियशनको संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलमा शाहले चलचित्र ‘परान’ र पन्तले ‘कोशेढुङ्गा’ बाट अवार्ड प्राप्त गरे ।

सोमबार साँझ चलचित्र विकास बोर्डमा आयोजित समापन समारोहमा नेशनल पानोरामा अन्तर्गत २० विधा र इन्टरनेशनल पानोरामा अन्तर्गत ६ विधा गरी कुल २६ विधामा अवार्ड प्रदान गरियो । नेपालसहित २० देशका फिचर, सर्ट र डकुमेन्ट्री गरी ४३ चलचित्र फेस्टिभलमा सहभागी थिए ।

नेपाल पानोरामा अन्तर्गत चलचित्र ‘अञ्जिला’ ले उत्कृष्ट चलचित्रसहित चार विधामा अवार्ड जित्न सफल भयो । सो चलचित्रबाट मिलन चाम्स उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठ उत्कृष्ट सह–अभिनेत्री तथा ‘रात किन हुन्छ’ गीतबाट थानेश्वर गौतम उत्कृष्ट संगीतकार घोषित भए ।

चलचित्र ‘कोशेढुङ्गा’ ले स्पेशल मेन्सन अवार्ड (चलचित्र) सहित चार विधामा अवार्ड प्राप्त गर्दा नायक आर्यन सिग्देल सह–अभिनेता र मञ्जिल कुमार नव अभिनेता घोषित भए । ‘परान’ ले जुरी अवार्ड जित्दा निर्देशक दीपक प्रसाद आचार्य (काकु) नव निर्देशक बने ।

आदिवासी चलचित्रतर्फ ‘नाम ओती’ ले उत्कृष्ट चलचित्रसहित तीन विधामा अवार्ड जित्यो । सो चलचित्रबाट दिलिप फुरुम्बो उत्कृष्ट निर्देशक र पूर्णबहादुर लिम्बु स्पेशल मेन्सन (नायक) घोषित भए ।

अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत इजिप्टको ‘द मंकी’ ले बेस्ट अफ्रिकन फिल्मको अवार्ड प्राप्त गर्‍यो । बेस्ट इन्टरनेशनल फिचर फिल्म बंगलादेशको ‘मेमोरिज अफ ग्लोमी मनसुन’, बेस्ट इन्टरनेशनल सर्ट फिल्म भारतको ‘ब्ल्यु’ र बेस्ट इन्टरनेशनल डकुमेन्ट्री फिल्म युक्रेनको ‘नट स्ड्युलेड अर फाइटिङ टु लर्न’ घोषित भए ।

गत शुक्रबार सुरु भएको चारदिने फेस्टिभलमा चलचित्र विकास बोर्ड सह–आयोजकको भूमिकामा रहेको थियो । समापन समारोह चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.