सुचना, समाचार र मनोरन्जन

प्रभासको ‘द राजा साब’ बक्स अफिसमा धराशायी, ११ दिनमै १४० करोडमै सीमित

काठमाडौं :

तेलुगु सुपरस्टार प्रभास अभिनीत फिल्म ‘द राजा साब’ भारतीय बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा ठूलो असफलताका रूपमा चिनिन थालेको छ।

९ जनवरी (२५ पुस) मा रिलिज भएको फिल्मले प्रदर्शनको ११ दिनमा भारतमा जम्मा १४० करोड रुपैयाँ नेट कलेक्सन गरेको छ। भारतीय ट्रेड एनालिस्ट पोर्टल सैक्निल्क का अनुसार यो कमाइ हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम सबै संस्करणको संयुक्त आँकडा हो।

करिब ४०० करोड रुपैयाँ को लागतमा बनेको फिल्म दोस्रो सातादेखि नै कमजोर व्यापारमा सीमित भएको छ। हाल सबै भाषामा दैनिक कमाइ २ करोड रुपैयाँभन्दा तल झरेको छ। सोमबार मात्र हिन्दी संस्करणले ७७ लाख रुपैयाँ को व्यापार गरेको तथ्यांक सार्वजनिक भएको छ।

फिल्मले भारतमा ५३ करोड रुपैयाँ को राम्रो ओपनिङ गरे पनि तेस्रो दिनदेखि दर्शक प्रतिक्रिया नकारात्मक बन्दै गएपछि कलेक्सनमा तीव्र गिरावट आएको हो। दोस्रो दिन तेलुगु संस्करणबाट मात्र ४७ करोड रुपैयाँ को व्यापार भए पनि त्यसयता ग्राफ लगातार ओरालो लागिरहेको छ।

बक्स अफिस विश्लेषकहरूका अनुसार अब ‘द राजा साब’ ले भारतीय बजारबाट मात्रै लगानी उठाउने सम्भावना न्यून देखिन्छ। यद्यपि, ओभरसिज बजारबाट फिल्मले ३३ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ भने यसको डिजिटल अधिकार जियो हटस्टारले १६० करोड रुपैयाँमा खरिद गरिसकेको छ। यस आधारमा फिल्मको घाटा अधिकतम ५० करोड रुपैयाँ आसपास रहने अनुमान गरिएको छ ।

समीक्षकहरूले फिल्मको कथा, पटकथा तथा हरर–कमेडी संयोजन कमजोर भएको टिप्पणी गरेका छन्। यही कारण ‘द राजा साब’ लाई सन् २०२६ कै ठूलो बक्स अफिस डिजास्टर मध्ये एकका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.