काठमाडौं :
युनाइटेड वर्ल्ड शाइनद्वारा शनिबार आयोजित कार्यक्रममा लामो समयदेखि काठमाडौं म्युजिक मण्डलामा प्रशिक्षण लिँदै आएका प्रशिक्षार्थीहरूले आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्।
कामपा वडा नं. १२ का वडा अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी कलाकारहरूले गायन, नृत्य, बाँसुरी, मादल, सारङ्गी, हार्मोनियमलगायत विभिन्न वाद्यवादनमा प्रस्तुति दिएका थिए। साथै मगर र नेवारी भाषाका गीतमा आधारित नृत्यसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा पुष्परत्न महर्जन, संस्थाकी उपाध्यक्ष सविता श्रेष्ठलगायत १६० जना विद्यार्थी तथा सयौँ अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजक संस्थाका रामेश्वर महर्जनका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका गायन, नृत्य तथा अन्य विधाका सबै प्रशिक्षणहरू निःशुल्क प्रदान गरिएको हो। उक्त कार्यक्रम विदेशी संस्था ‘लिफ्टिङ फोर चेन्ज’को सहयोगमा उदयपुर र कटारीमा सञ्चालन हुँदै आएको उनले जानकारी दिए।
त्यसैगरी, संस्थाका संयोजक श्याम बस्नेतले कलाकारितामा रुचि राख्ने तर आर्थिक रूपमा कमजोर वर्गका व्यक्तिहरूलाई लक्षित गरी संस्थाले निरन्तर निःशुल्क प्रशिक्षण दिँदै आएको बताए।