सुचना, समाचार र मनोरन्जन

प्रख्यात अभिनेता तथा मार्शल आर्टका दिग्गज जैकी च्यानले आफ्नो सबै सम्पती परोपकारमा लगाउने

ज्याकी च्यानले करिब ४० करोड अमेरिकी डलर बराबरको आफ्नो सम्पत्ति छोरालाई नदिई दानमा दिने अडान पुनः दोहोर्याएका छन्। विश्वप्रसिद्ध मार्शल–आर्टिस्ट तथा अभिनेता च्यानले सामाजिक सञ्जालमा फेरि चर्चामा आएको बहसका बीच आफूले छोराले आफ्नो सफलताको बाटो आफैँ बनाउनु पर्ने विश्वास नबदलिएको बताएका हुन्।

उनले २०११ मै सार्वजनिक रूपमा भनेका थिए कि “यदि मेरा छोरा सक्षम छन् भने उनीहरूले आफ्नै कमाइ बनाउँछन्, सक्षम छैनन् भने मेरो पैसा बर्बाद गर्छन्।” यही भनाइ पछिल्लो दशकभर बारम्बार उद्धृत हुँदै आएको छ र अहिले पनि उनले त्यही सोच कायम रहेको बताएका छन्।

च्यानका अनुसार तैयार सम्पत्तिले जीवनमा संघर्षको मूल्य घटाउने, अनुशासन कमजोर बनाउने र पैसाको दुरुपयोग हुने सम्भावना बढाउँछ। आफूले दानमा दिने निर्णयका पछाडि यी नै आधार रहेको उनले स्पष्ट पारेका छन्। छोराले विगतमा केही कानुनी समस्याको सामना गर्नुपरेका विषय पनि चर्चामा रहँदै आएको छ, यद्यपि च्यानले यसबारे सार्वजनिक टिप्पणी गर्न रुचाएका छैनन्।

यो विषय पुनः सतहमा आएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। केहीले च्यानको आत्मनिर्भरता र परिश्रमप्रतिको सोचलाई सकारात्मक मानेका छन् भने कतिपयले परिवारलाई सम्पत्ति नछोड्नु अमानवीय भएको भन्दै आलोचना गरेका छन्।

सम्पत्ति दान गर्ने उनको निर्णय अन्तिम हो कि भविष्यमा फेरि परिवर्तन हुन सक्छ भन्ने कुरा खुलेको छैन। तर उनले उठाएको मूल प्रश्न—धनी व्यक्तिको सम्पत्ति परिवारलाईै जानुपर्छ कि सन्तानले आफ्नै बाटो बनाउनु पर्छ—बारेको बहस अझै जारी छ।

Leave A Reply

Your email address will not be published.