सुचना, समाचार र मनोरन्जन

वर्तमान राजनीति र युवाको कथामा बनेको ‘बिगुल’ फागुन १ देखि हलमा

काठमाडौं :

फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मसम्बन्धी विविध जानकारी सार्वजनिक गरेको छ। सम्मेलनमा फिल्मको प्रचार–प्रसार तथा प्रदर्शनका लागि नेपाल जेसिस ले सहयोग गर्ने घोषणा गरिएको छ।

कार्यक्रममा ‘बिगुल’ का निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। यसअघि सम्पन्न ‘बिगुल’ टिमको मोफसल प्रचार अभियानमा पनि नेपाल जेसिसले सहयोग गरेको थियो।

निर्माता कोइरालाले नेपाल जेसिससँगको सहकार्यले टिमलाई थप ऊर्जा मिलेको बताए। ‘बिगुल’ का कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष पनि हुन्। उनले देश र जनताको पक्षमा सन्देश दिने उद्देश्यसहित मनोरञ्जनात्मक फिल्म निर्माण गरिएको बताउँदै सबै पक्षको सहयोग अपेक्षा गरे।

नेपाल जेसिसका अध्यक्ष कार्कीले वर्तमान नेपाली समाज, परिवार, राजनीति र युवाको यथार्थ कथामा आधारित फिल्म ‘बिगुल’ सबै वर्ग र समुदायसम्म पुर्‍याउन सहकार्य गरिएको स्पष्ट पारे। उनले फिल्मको सफलताको कामना गर्दै यस्ता मौलिक विषयवस्तुमा आधारित फिल्म निर्माणलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

निर्देशक रमेश कोइराला ले ‘बिगुल’ भुइँमान्छेको कथा भएको र वर्तमान राजनीतिक परिवेशसँग मेल खाने भएकाले हरेक नागरिकले हेर्नुपर्ने फिल्म भएको बताए। उनका अनुसार फिल्ममा मनोरञ्जनसँगै देश र माटोप्रतिको प्रेम जागृत गराउने सन्देश समेटिएको छ।

वरिष्ठ अभिनेता नीर शाह ले वर्तमान यथार्थमा आधारित फिल्महरू कम बन्ने गरेको उल्लेख गर्दै ‘बिगुल’ जस्तो कथाको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको बताए। अभिनेत्री बेनीशा हमाल ले आफूले फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ‘बिगुल’ देशप्रेमी र फरक स्वादको फिल्म भएको धारणा राखिन्। अभिनेता नरेन खड्का ले फिल्ममा युवा शक्तिको प्रतिनिधित्व गरिएको उल्लेख गर्दै सचेत र जागरुक दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे।

निर्माता कोइरालाका अनुसार ‘बिगुल’ ले नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यको चिन्तामा रहेका युवापुस्ता र संघर्षशील महिलाहरूको चेतनालाई प्रतिनिधित्व गर्छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, रविन्द्र खड्का, शिशिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुषी शर्मा तथा नव अभिनेत्री मीरा पण्डित लगायतको अभिनय रहेको छ। प्रदीप भारद्वाज र मौनता श्रेष्ठ को पटकथा–संवाद, शिव ढकाल को छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन्। फिल्म राजधानीमा काफिया फिल्म्स र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्ट ले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.