सुचना, समाचार र मनोरन्जन

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

 

इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ । यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताएका छन् । उता, अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताए ।

 

अमेरिकी सेनाले लगातार एघारौँ रात इरानमाथि आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो ।

 

हर्मुज जलघाँटीमा सुरु भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ ।

 

ट्रम्पले अर्को सम्भावित अमेरिकी लक्ष्य नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने सङ्केत गर्नुभएको छ । पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

 

यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी तथा उसका सहयोगी मुलुकका हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ । खताम अल–अन्बिया सैन्य कमान्डले सम्भावित नयाँ अमेरिकी आक्रमणलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने र त्यसको जवाफ अमेरिका, उसका सहयोगी तथा समर्थकका सम्पत्तिमाथि आक्रमणमार्फत दिइने जनाएको छ ।

 

यता, कुवेतले बुधबार इरानबाट आएको भनिएको ड्रोन आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ । बहराइनले पनि इरानी आक्रमणहरू रोकिएको दाबी गरेको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको बताएका छन् । इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.