सुचना, समाचार र मनोरन्जन

पल शाह स्टारर ‘आ बाट आमा’को एक सातामा ३ करोड १८ लाख ग्रस, दोस्रो हप्तामा पनि व्यापार स्थिर

काठमाडौं :

अभिनेता पल शाह मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको पहिलो सातामै ३ करोड १८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। कमजोर बक्स अफिस रिपोर्टहरू आइरहेका बेला यस फिल्मको सुरुवाती व्यापारलाई उल्लेख्य मानिएको छ।

गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्म दोस्रो हप्तामा प्रवेश गरिसक्दा पनि अधिकांश हलमा दर्शकको उपस्थिति स्थिर रहेको निर्माण टिमले जनाएको छ। केही हलमा शो थपिएको र ‘वर्ड अफ माउथ’ का आधारमा व्यापार निरन्तर रहने संकेत देखिएको छ।

पल शाहको मुख्य अभिनय रहेको यस फिल्ममा आमा–बुबा र छोराबीचको सम्बन्धको कथालाई केन्द्रमा राखिएको छ। दर्शक प्रतिक्रियामा कथावस्तु र केन्द्रीय पात्रको प्रस्तुतिलाई लिएर सकारात्मक टिप्पणीहरू आएका छन्, जसको असर बक्स अफिसमा देखिएको निर्माणपक्षको दाबी छ।

हलमा दर्शक चाप बढेसँगै अभिनेता पल शाहसहितको कलाकार तथा निर्माण टिम दर्शक भेटघाट (हल भिजिट) कार्यक्रमका लागि सक्रिय भएको छ। निर्देशक चन्द्र पन्तका अनुसार माघ २७ गते धनगढीका हलहरूमा पल शाहसहितको टिम दर्शकसँग प्रत्यक्ष भेटघाटमा जाने कार्यक्रम तय भएको छ, जहाँ टोलीले दर्शकसँगै बसेर फिल्म हेर्नेछ।

चन्द्र पन्त निर्देशित यस फिल्ममा विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय रहेको छ। फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको वितरण आरआर फिल्म्स ले गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग सुरक्षित छ।

Leave A Reply

Your email address will not be published.