काठमाडौं :
निर्देशक कृषा चौलागाइँको आगामी फिल्म पारस मा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण टिमले केही दिनअघि मात्रै अभिनेत्री निरुता सिंहलाई फिल्ममा भित्र्याएको थियो। निरुतापछि एक्सन स्टारका रूपमा परिचित सुशीलको इन्ट्रीले फिल्मको लाइनअप थप बलियो बनेको छ।
निर्देशक चौलागाइँले सामाजिक सञ्जालमार्फत सुशीलसँगको तस्वीर सार्वजनिक गर्दै उनलाई फिल्ममा स्वागत गरेकी हुन्। उनले “प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत” भन्दै पोस्ट गरेकी छन्। सुशीलको आगमनसँगै पारस अझ सशक्त बन्ने अपेक्षा निर्माण टिमको छ।
यसअघि फिल्ममा अभिनेता निखिल उप्रेती नायकका रूपमा अनुबन्ध भइसकेका छन्। नायिकातर्फ जसिता गुरुङ, प्रियंका कार्की र निरुता सिंह फाइनल भइसकेका छन्। स्टारकास्टको यो संयोजनले पारसलाई पछिल्ला नेपाली फिल्महरूसँग प्रतिस्पर्धा गर्ने स्तरको बनाउने संकेत गरेको छ।
यसअघि कृषाले सामाजिक कथामा आधारित ऐँचोपैचो र एक्सन जनराको पिताम्बर निर्देशन गरिसकेकी छन्। अब तेस्रो निर्देशकीय प्रोजेक्टका रूपमा पारसलाई थप परिपक्व र प्रभावशाली बनाउने तयारीमा उनी जुटेकी छन्।
प्रेमकथामा आधारित यस फिल्मको कथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म Gangs of Wasseypur (भाग १ र २) को पटकथा लेखनमा सहकार्य गरेका थिए। निर्देशक चौलागाइँले निर्वाचनलगत्तै फिल्मको छायांकन सुरु गर्ने तयारी रहेको जानकारी दिएकी छन्। स्टारकास्ट र प्राविधिक टिमको बलियो उपस्थितिले पारसलाई वर्षकै प्रतिक्षित प्रोजेक्टका रूपमा हेरिएको छ।