पोखरा,
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पोखरा सिर्जनाचोकस्थित एनसेल सेन्टर पुनः सञ्चालनमा आएको छ। एनसेलकी ग्रहाक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एच.आर अफिसर एम प्रसाद गौतमले पुन संचालनमा आएको एनसेल सेन्टरको सुभारम्भ गरेका हुन ।
मर्मत–सम्भार कार्य सम्पन्न गरी बिहिबारदेखि ग्राहक सेवा पूर्ववत अवस्थामै सेवा दिन थालेको दाहालले बताईन् ।
जेनजी प्रदर्शनका क्रममा पोखराको फेवा मार्ग सृजनाचोकमा रहेको एनसेल सेन्टरमा तोडफोड हुँदा भौतिक संरचनामा क्षति पुगेको थियो। घटनापछि सुरक्षा अवस्था मूल्यांकन तथा मर्मत कार्यका कारण सेवा अस्थायी रूपमा बन्द गरि माथिल्लो तलाबाट अनौपचारिक रुपमा सेवा प्रदान गर्दै आएको थियो ।
कम्पनीका अनुसार अहिले सेन्टर पूर्ण रूपमा सञ्चालनमा आएको छ। ग्राहक सेवा, सिम खरिद तथा प्रतिस्थापन, बिल भुक्तानी, इन्टरनेट सेवा सम्बन्धी सहयोग लगायत सबै सेवा नियमित रूपमा उपलब्ध गराइएको छ।
एनसेलले घटनाबाट सेवाग्राहीमा परेको असुविधाप्रति दुःख व्यक्त गरेको छ। साथै, समस्या समाधानका लागि संवाद र शान्तिपूर्ण उपाय अपनाउन सबै पक्षसँग आग्रह गरेको छ।
स्थानीय व्यवसायी तथा सेवाग्राहीहरूले सेन्टर पुनः सञ्चालनमा आउनुलाई सकारात्मक रूपमा लिँदै बजार क्षेत्रको व्यवसायिक गतिविधि क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरेका छन्। ग्राहकबीच दुई दशकदेखि सेवा प्रवाह गर्दै आएको एनसेलका हाल देशभर ३१ एनसेल सेन्टर रहेका छन् ।