
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार यस अवधिमा दुबईबाट पोखरा आउने यात्रुको संख्या ८ हजार ७ सय ५६ रहेको छ । त्यस्तै, पोखराबाट दुबई जाने यात्रुको संख्या ५ हजार ५ सय १३ रहेको छ ।
तथ्यांकले दुबईबाट पोखरा आउने यात्रुको संख्या बाहिरिनेभन्दा ३ हजार २ सय ४३ बढी देखाएको छ । यसले पोखरा–दुबई हवाई सेवामा आगमनतर्फ यात्रुको आकर्षण बढी रहेको संकेत गरेको छ ।
उडान सुरु भएयता सेप्टेम्बर २५ मा मौसम प्रतिकूलताका कारण एक दिन उडान रद्द भएको थियो । त्यसबाहेक ५३ दिन नियमित रूपमा उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।
पोखराबाट दुबईसँगको सिधा हवाई सम्पर्कले वैदेशिक रोजगारी, व्यवसाय तथा पर्यटनका लागि आवतजावत गर्ने यात्रुलाई सहज बनाएको छ । विशेषगरी विदेशबाट पोखरा आउने यात्रुको संख्या बढी देखिनुले अन्तर्राष्ट्रिय पर्यटक तथा नेपालीको आवागमनमा यो हवाई सेवाले सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।