काठमाडौँ :
नेपाली दर्शकमाझ लोकप्रिय नायिका हुन् निरुता सिंह। तीन दशकअघि फिल्म ‘दक्षिणा’बाट अभिनेत्रीको रुपमा उदय भएकी निरुताले ‘दर्पणछाया’लगायत दर्जनौ हिट फिल्म दिएकी थिइन्। उनलाई दर्शकले उत्तम प्रधान,दीलिप रायमाझीसँगको अभिनयमा बढि हेर्न रुचाए। उनीहरुको जोडी फिल्ममा जम्यो पनि।
नेपाली फिल्ममा काम पाउन कठिन भइरहेको बेला गत वर्ष उनलाई रेखा थापाले आफ्नो फिल्म ‘३६ को आँकडा’का लागि नेपाल बोलाईन्। सोही समयमा उनले अर्को फिल्म ‘सारथी’मा पनि अनुबन्ध हुने मौका पाइन्। संयोग नै मान्नुपर्छ। उनका ती दुवै फिल्म यही मंसिर ११ र १७ गते एक साताको अन्तरालमा प्रदर्शनमा आउँदैछ।

यसैको प्रमोसनका क्रममा निरुताले आफु नेपालमै फिल्मको काम गर्दा गर्दै मर्न पाए हुन्थ्यो भनेपछि थप चर्चामा आएकी छन्। साथै उनले अन्तरवार्तामा आफु कलिलो उमेरमा नै हिरोको आमा बनेर खेलेको खुलासा गरेकी छन्। जुन कुरा दर्शकमाझ नौलो भएको छ। किनभने त्यो पनि उनीसँग अभिनय गरेर दर्शकले रुचाएका अभिनेता दीलिप रायमाझीको।
‘मैले ‘दर्पणछायाँ’ अगाडि नै दिलिप रायमाझीको आमाको भुमिका गरेको थिए। सायद थाहा छ कि छैन। मैले कति इन्टरभ्युमा पनि भनेको छु। ‘१६ वर्षे जोवन’भन्ने फिल्म थियो,’उनले भनेकी छन्। उनले फिल्मको नाम र त्यस फिल्मको हिरो र कहानी सहित आफुले फिल्ममा आमा बन्दाको अनुभव सुनाएकी हुन्। उनी थप्छिन्,‘शम्भु प्रधानको यो फिल्ममा शिव श्रेष्ठ हिरो हुनुहुन्थ्यो। उहाँको फस्ट श्रीमती म हुन्छु। दोस्रो श्रीमतीको भुमिकामा जल शाह हुनुहुन्थ्यो। मेरोतर्फको छोरा चाही हाम्रो दिलिप रायमाझी हो।’
नौलो कुरा के हो भने निरुता र दीलिप रायमाझी पर्दामा जमेका जोडी हुन्। तिनै हिरोको आमाको भुमिकामा निरुतालाई तीन दशक अघि कस्तो थियो होला भन्ने कौतुहल्ता दर्शकमा भएको हो।