पोखरा,
राइज हेल्थ एण्ड फिट्नेस सेन्टरको आयोजनामा भएको प्रथम अन्तर जिम फुट्सल प्रतियोगिता आईतबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा मैदान जिम बिरौटाले जाइन्ट जिम लामाचौरलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
उपाधिसँगै विजेता मैदान जिम बिरौटाले नगद रु ३५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी फर्स्ट रनर–अप जाइन्ट जिम लामाचौरले नगद रु २५,०००, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट गोलरक्षकको उपाधि सचिन गुरुङले जितेका छन् भने सर्वाधिक गोलकर्ताको उपाधि सन्जेल गुरुङलाई प्रदान गरिएको छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीको उपाधि नारायण थापा मगरले हात पारेका छन्।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई अतिथिहरू कमल राज भण्डारी, सन्तोष चौधरी, गिरबहादुर पुन, मोज के.सी र सन्तोष नेपाली (ग्यलिवर्ड) ले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।
प्रतियोगिताका सम्पूर्ण खेलहरू चङ्गा स्पोर्ट्समार्फत देश–विदेशमा प्रत्यक्ष (लाइभ) प्रसारण गरिएको थियो। कार्यक्रमको संचालन रोहन नेपालीले गरेका थिए ।
आयोजक समितिका तर्फबाट विनोद नेपालीले पहिलो संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी संस्करणलाई अझ बृहत् र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो।
