सुचना, समाचार र मनोरन्जन

लोकप्रिय बन्दै गोर्खा पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

गोरखा,

जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१र८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

“खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अदुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भने । बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उनले भने, “किसानले पालिकाले जति मात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनः अन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

“सुरुको वर्षमा किसानलाई आवश्यक पर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । बिस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबिच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उनले भने । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२÷८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गरे । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेष गरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.