काठमाडौं :
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को कास्कीबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ। मंगलबार माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सा गाउँमा फिल्मको औपचारिक सुरुवात गरिएको हो।
नीता ढुङ्गानाकै निर्देशनमा बन्ने फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ। कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार यतिबेला सम्पूर्ण टिम सुटिङ सेटमै व्यस्त छ।
फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका हुन्। छायांकनमा सुदिप बराल डीओपी र क्रियटिभ निर्देशनमा सरोज अधिकारी रहेका छन्। म्युजिक भिडियोमार्फत चर्चित सरोजले यसै फिल्मबाट पहिलो पटक क्रियटिभ निर्देशकको जिम्मेवारी सम्हाल्दैछन्।
निर्माण टिममा हरिहर अधिकारी निर्माता रहेका छन् भने प्रोडक्सन म्यानेजरसमेत रहेका शंकर पाण्डे कार्यकारी निर्माताको भूमिकामा छन्। फिल्मको सम्पादन साहिल खानले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेनले तयार पार्नेछन्।
निर्माण पक्षले फिल्मलाई आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ। सोही समयमै रिलिज गर्ने उद्देश्यका साथ छायांकन कार्य तीव्र रूपमा अगाडि बढाइएको निर्देशक ढुङ्गानाले बताइन्। उनका अनुसार फिल्मको छायांकन तालिका करिब एक महिनाको रहनेछ।
यसअघि नीता ढुङ्गानाको ब्यानरमा ‘ह्रस्वदीर्घ’ निर्माण भइसकेको थियो।