काठमाडौँ :
निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका हुन्।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
एक्सन विधामा बनेको यस फिल्ममा नवनायक अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा साउथ इन्डियाका अन्य कलाकारको समेत सहभागिता रहेको बताइएको छ।
फिल्मको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् भने द्वन्द्व निर्देशन सञ्जय थापाले सम्हालेका छन्। निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्। फिल्मको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिनेछ। सोसँगै फिल्मको औपचारिक प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।