काठमाडौं :
नयाँ वर्ष २०८३ को पहिलो दिनमै नायिका पूजा शर्मा ले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्स को संयुक्त निर्माणमा बन्ने चलचित्रको नाम ‘रत्यौली’ राखिएको छ।
यस चलचित्रमा पूजा शर्मा र विजय बराल को जोडी पक्का भएको छ। विजय र पूजाले पहिलो पटक एउटै चलचित्रमा सहकार्य गर्न लागेका हुन्, जसले दर्शकमाझ उत्सुकता बढाउने अपेक्षा गरिएको छ। चलचित्रलाई मुस्कान ढकाल ले निर्देशन गर्नेछन् भने निर्माण सुरज आचार्य ले गर्नेछन्।
निर्माता सुरज आचार्य लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले १ सयभन्दा बढी नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरका रूपमा काम गरिसकेका छन् भने केही भारतीय प्रोजेक्टमा लाइन प्रोड्यूसरको भूमिकासमेत निर्वाह गरेका छन्। ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’मा सह–निर्माता तथा ‘वरमाला’मा निर्माताको रूपमा पनि उनको अनुभव रहेको छ।
सार्वजनिक गरिएको पोस्टरमा विजय र पूजा ‘रत्यौली’मा नाचिरहेको देखिन्छ। पोस्टरमा पूजाले दौरा–सुरुवाल र नेपाली टोपी लगाएकी छन् भने उनको ओठमा जुँगा देखाइएको छ, जसले चलचित्र रमाइलो र फरक स्वादको हुने संकेत गर्छ।
चलचित्रको कथा वा अन्य पक्षबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। पहिलो पटक पर्दामा देखिन लागेको विजय–पूजाको जोडी दर्शकका लागि चासोको विषय बन्ने देखिएको छ।