काठमाडौं :
फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनिया पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका थिए। त्यसपछि उनले ‘यात्राः अ म्युजिकल भ्लग’मा अभिनय गरे। तर, युवापुस्तामाझ चर्चामा रहेका सलिनमान त्यसपछि भने अचानक हराए।
न त उनी सामाजिक सञ्जालमा सक्रिय देखिए, न त कुनै नयाँ फिल्ममा काम गरिरहेको खबर नै आयो। गत वर्ष भने सलोन बस्नेत को फिल्म ‘रंगी’को प्रिमियरमा उनी झल्किएका थिए।
लामो मौनतापछि सलिनमानले नयाँ वर्षको अवसर पारेर फिल्ममा कमब्याक गर्ने संकेत दिएका छन्। बारमा बसेर मदिरा पिइरहेको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, “कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ।”
उनले ‘यात्रा’पछि कुनै फिल्ममा काम गरेका छैनन्, जुन करिब आठ वर्ष भइसकेको छ। यही आठ वर्षको मौनता तोड्दै नयाँ वर्षमा पुनः अभिनयमा फर्किने संकेत उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
उनले लेखेका छन्, “कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनतापछि, नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ।”
यद्यपि, उनी कुन फिल्ममार्फत फर्किन लागेका हुन् भन्नेबारे केही खुलाइएको छैन। स्रोतका अनुसार, उनले सलोन बस्नेतको नयाँ फिल्ममा काम गर्न सक्ने चर्चा छ, तर यसबारे दुवै पक्षले आधिकारिक पुष्टि गरेका छैनन्।
सलिनमानले सार्वजनिक गरेको तस्बिर हेर्दा भने उनी कुनै फिल्मको दृश्यमा देखिएको अनुमान गर्न सकिन्छ। सायद यही तस्बिरलाई नयाँ वर्षको उपहारस्वरूप फ्यानहरूसँग साटेका हुन् कि भन्ने अड्कल पनि गर्न सकिन्छ। अब उनको कमब्याक कुन प्रोजेक्टमार्फत हुन्छ भन्ने जान्न भने केही समय कुर्नै पर्ने देखिन्छ।