सुचना, समाचार र मनोरन्जन

‘गंगारानी’मार्फत फेरि निर्देशनमा साने, जेठबाट सुटिङ

काठमाडौं :

लेखक तथा निर्देशक राजबहादुर साने ले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्स को ब्यानरमा निर्माण हुने ‘गंगारानी’ शीर्षकको चलचित्रको औपचारिक घोषणा गरिएको हो।

राष्ट्रिय पुरस्कार विजेता सानेकै लेखन तथा निर्देशनमा बन्ने उक्त चलचित्र आगामी जेठको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको छ। प्रेमकथामा आधारित यस चलचित्रका कलाकार तथा प्राविधिक टिम भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिएका छन्।

चलचित्रको घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन्। चलचित्रमा गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताएका छन्।

निर्देशक सानेले झण्डै एक दर्जन चलचित्रमा काम गरिसकेका छन्। ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका चलचित्रमा उनले योगदान दिइसकेका छन्। ‘बुलाकी’बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए।

Leave A Reply

Your email address will not be published.