पोखरा,
प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) पोखरामा पनि मनाइएको छ । पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको सहआयोजनामा भ्यू फेवा राउण्ड फेवा पदमार्गमा हाईकिङ तथा सामूहिक ध्यान साथै योगा गरी मनाइएको छ ।

शारीरिक स्फूर्ति र मानसिक शान्तिको सन्देश प्रवाह गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बिहान पोखरा १७ ड्यामसाइडदेखि फेवाताल पारी रानीवनमा हाइकिङ र योगध्यान गरिएको हो । पर्यटनमन्त्री मित्रलाल बस्याल र विभिन्न संघ–संस्था तथा सरकारी निकायका व्यक्तिहरु पर्यटन व्यवसायी, पर्यटक, स्थानिय लगायतको उपस्थिति रहेको थियो । मन्त्री बस्यालले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । उनले स्वस्थ्य जिवनशैली जिउन पनि हरेक नागरिकले दैनिक योग गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष हिमलाल बरालले पर्यटन प्रवद्धन सँगै नयाँ गन्तव्यहरुको पहिचान र संरक्षण गर्न वडा लागि परेको बताए । उनले अन्तर्राष्ट्रिय आरोग्य दिवसमा प्रचारप्रसारले ओझेलमा परेको पर्यटकिय रुट वडा २२ मा पर्ने भ्यू फेवा राउण्ड फेवा पदमार्गलाई चुनेको प्रति धन्यवाद ब्यक्त गरे ।