काठमाडौँ :
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ सार्वजनिक गरिएको छ। उक्त गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीले लेखेका हुन्। संगीत दिपक शर्माले दिएका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन्। भिडियोको सुरुवातमै राजेश हमाल र करिश्मा मानन्धरबीचको संवाद समेटिएको छ, जसले दर्शकको ध्यान आकर्षित गर्छ।
खिमबहादुर थापा निर्माता रहेको यस भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन्। देवेन्द्रले यसअघि पनि राजेश हमालसँग दर्जनौँ म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। कुनै समय हमालको पछाडि बसेर कोरसमा नाचेका पाण्डे अहिले सफल निर्देशकका रूपमा स्थापित भएका छन्।
उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन्। निर्देशक पाण्डेका अनुसार यो भिडियो गत निर्वाचनअघि नै छायांकन गरिएको भए पनि अहिले मात्र सार्वजनिक गरिएको हो। यसअघि पनि करिब तीन वर्षअघि देवेन्द्रले राजेश हमाल र करिश्मा मानन्धरलाई नै अभिनय गराएर अर्को म्युजिक भिडियो निर्माण गरेका थिए।