सुचना, समाचार र मनोरन्जन

स्वस्तिमा खड्काको ‘लालीबजार’ ट्रेलरले छोयो मन—वादी महिलाको पीडा पर्दामा

काठमाडौं :

स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’को ट्रेलरले दर्शकको ध्यान तानेको छ। शुक्रबार निर्माण पक्षले कलाकार सहितको टिम बसेर काठमाडौंको सिभिल मलको हलमा ३ मिनेट लामो ट्रेलर सार्वजनिक गर्यो। उक्त ट्रेलर रिलिज भइसकेपछि धेरैले स्वस्तिमा खड्काको तारिफ गरे भने निर्देशक तथा कथाकारलाई धन्यवाद दिए। कारण हो,ट्रेलरमा वादी समुदायका तीन पुस्ता महिलाको बाध्यता र संघर्षलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ।

जहाँ अर्थात वादी समुदायमा नत्थी प्रथाले छोरीचेलीमाथि हैकम जमाउन गाउँका ठुलाठालु भनिनेबाट भएको अत्याचारको कथालाई बोल्छ। अझ भनौँ, सभ्रान्त वर्गले दिने यातना र त्यसबाट प्रताडित वादी महिलाको कथालाई निर्देशक थापाले फिल्ममा राखेका छन्। जुन कथाको छोटो रुपम ट्रेलरले सोही कुरा भन्छ।

कार्यक्रममा उपस्थित भएकी अभिनेत्री खड्काले मुटुमा राख्न सक्ने फिल्म बनेको बताईन्। ‘मैले धेरै वर्षपछि पनि फर्केर हेर्दा सधैं ‘चेयर्स’ गर्ने फिल्म हो यो,’उनले मिडियाकर्मीलाई आफ्नो अनुभव सुनाउँदै भनिन्,‘फिल्मको व्यावसायिक नतिजा जे जस्तो आउला तर मेरो लागि यो सधैंभरि गर्व गर्न लायक फिल्म हुनेछ ।’

उनको मुहारमा यो फिल्मको ट्रेलर हेरेपछि बेग्लै किसिमको चमक थियो। स्वस्तिमाका अलवा यस फिल्ममा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुशन प्रजापतीले खिचेका हुन् भने निर्देशक थापा र प्रदीप भट्टराईले पटकथा तथा संवाद लेखेका छन्। वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको सम्पादन मित्रदेव गुरुङको छ भने संगीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ। निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ छन् ।

Leave A Reply

Your email address will not be published.