सुचना, समाचार र मनोरन्जन

सरकारी वेबसाइटमा अपाङ्ग पहुँचमैत्री सुविधा उपलब्ध

सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जीआईएमडब्ल्यूएस) अन्तर्गत नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।

यो सुविधा विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको महानिर्देशक श्रीचन्द्र साहले बताउनुभयो ।

अब सरकारी वेबसाइटहरू माउस प्रयोग नगरिकनै किबोर्डबाटै सञ्चालन गर्न सकिनेछ । ’स्किप नेभिगेसन’ लिङ्कको व्यवस्थाले स्क्रिन रिडर प्रयोगकर्तालाई सीधै मुख्य विषयवस्तुमा पुग्न सहज बनाउनेछ ।

सबै महत्त्वपूर्ण तस्वीर, लोगो र चिह्नहरूमा ’अल्ट टेक्स्ट’ राखिएकाले स्क्रिन रिडर प्रयोगकर्ताले सामग्री सहजै बुझ्न पाउनेछन् । सर्च र सम्पर्क फारामलगायत सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएका छन् ।

फाराम भर्दा आउने त्रुटि सन्देश, सुझाव र पेश गरेपछिका सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने व्यवस्था मिलाइएको छ । यी सुधारहरू सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुने विभागको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.