सुचना, समाचार र मनोरन्जन

रोटरी क्लब अफ पोखरा फिस्टेललाई डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) द्वारा सम्मान

पोखरा,

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) द्वारा काठमाडौंमा आयोजित ‘पुरस्कार तथा सम्मान कार्यक्रम २०२५–२६’ मा रोटरी क्लब अफ पोखरा फिस्टेल विभिन्न महत्वपूर्ण विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित सम्मानबाट विभूषित भएको छ।

डिस्ट्रिक्टको वार्षिक मूल्याङ्कन समितिले क्लबहरूले वर्षभरि सञ्चालन गरेका सामाजिक तथा मानवीय सेवा कार्यक्रम, मासिक प्रतिवेदन, रोटरी फाउन्डेसनमा गरेको योगदान तथा क्लब सञ्चालनको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरी पुरस्कार प्रदान गरेको हो।

रोटरी क्लब अफ पोखरा फिस्टेलले वार्षिक कोष योगदान विधामा प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी रोटरी फाउन्डेसन विधामा प्रथम उपविजेता तथा क्लब सञ्चालन तथा व्यवस्थापन विधामा द्वितीय उपविजेता को सम्मान प्राप्त गरेको छ।

व्यक्तिगत उत्कृष्टताको सम्मानस्वरूप क्लबकी रोटेरियन डा. नम्रता के.सी. लाई क्षेत्र–४ की उत्कृष्ट सचिव तथा रोटेरियन कमला गिरी लाई क्षेत्र–४ की उत्कृष्ट अध्यक्ष को प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ।

यसै अवसरमा रोटेरियन महेश्वर पहारीरोटेरियन एवं वरिष्ठ अधिवक्ता नारायणप्रसाद शर्मारोटेरियन रमाकान्त बराल तथा रोटेरियन रमेशप्रसाद कोइराला लाई रोटरी अभियानमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै कदर–पत्र प्रदान गरिएको थियो।

क्लबका अनुसार प्राप्त सफलता सम्पूर्ण सदस्यहरूको समर्पण, सकारात्मक सोच, सक्रिय सहभागिता तथा सेवाप्रतिको अटल प्रतिबद्धताको प्रतिफल हो। यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवा तथा मानवीय कार्यलाई निरन्तरता दिन थप प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल र भूटानका १६२ वटा रोटरी क्लब आबद्ध रहेको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने क्लब तथा रोटेरियनहरूलाई सम्मान गरिएको थियो।

रोटरी क्लब अफ पोखरा फिस्टेलले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले पोखराको गौरव मात्र होइन, समग्र रोटरी अभियानको प्रतिष्ठा र सेवामूलक अभियानलाई समेत थप उचाइमा पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.