काठमाडौं :
लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ। निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औँ एपिसोडलाई च्याप्टर–२ का रूपमा निरन्तरता दिँदै दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो।
दर्शकको अत्यधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शोलाई कुनै ब्रेक बिना अघि बढाइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले बताए। उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याइएको हो।
‘हामीले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याएका छौँ। ५४औँ एपिसोडलाई नै हामीले च्याप्टर–२ भनेर घोषणा गरेका हौँ,’ निर्देशक भण्डारीले भने, ‘दर्शककै मागअनुसार निरन्तर मनोरञ्जन दिने उद्देश्यले हामीले प्रसारणलाई निरन्तरता दिएका हौँ।’
च्याप्टर–२ को पहिलो एपिसोडमा वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’को निर्माण टिम तथा कलाकार विशेष अतिथि बनेका थिए। कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थिति रहेको थियो।
शोमा पुरानै हास्य कलाकार पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति दिएका थिए। गत मंगलबार प्रसारित एपिसोडले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। उक्त एपिसोडमा ‘मालती मंगले’को टिम अतिथिका रूपमा उपस्थित हुँदा पवन भट्टराईले अभिनेता विजय बरालकै अगाडि फिल्म ‘कबड्डी’का बीके पात्र बनेर प्रस्तुति दिएका थिए, जसमा विजय बराल खुलेर हाँसेका थिए।
प्रभात लामा र कर्मा लामाको ‘सुदन–सुशीला’ डुओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसैगरी, भरतमणि पौडेल र सुमन कोइरालाको प्रस्तुति शोको मुख्य आकर्षण बनेको छ। उनीहरूले अतिथि बनेर सोफामा बसेका आफ्नै साथी मेक्सम गौडेललाई रोस्ट गर्दै दर्शकलाई हसाएका थिए। एपिसोडको अन्त्यमा जड्याहा पात्रमा देखिएका कैलाश कार्कीको प्रस्तुतिले दर्शकमाझ हाँसोको फोहोरा छुटाएको देखिन्छ। यसका साथै आगामी एपिसोडहरूमा सुमन कार्की, सजन श्रेष्ठ र मेक्सम गौडेलले पनि प्रस्तुति दिनेछन्।
यस सिजनमा कलाकार टिममा केही परिवर्तन गरिएको छ। सन्तोष थापा शोबाट बाहिरिएका छन् भने उनको स्थानमा कर्मा लामा नियमित रूपमा देखिने भएका छन्। यसअघि साइड रोलमा मात्र देखिँदै आएका कर्माले ‘सुदन–सुशीला’ र ‘चक्रे–मिलन’ जस्ता पात्रमार्फत लोकप्रियता हासिल गरेपछि उनलाई नियमित परफर्मरका रूपमा अनुबन्ध गरिएको हो।
शोको स्क्रिप्ट लेखनमा कर्मा लामासँगै निश्चल अर्याल र प्रतीक अधिकारी रहेका छन्। कार्यक्रममा सेट डिजाइनमा पनि परिवर्तन गरिएको छ। पुरानो सेटलाई नयाँ रंगरोगन र फूलहरूले सजाएर अझ आकर्षक बनाइएको छ। दीपाश्री निरौला अध्यक्ष रहेको थ्री प्रोडक्सनको प्रस्तुति रहेको यो शो हरेक मंगलबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ। साथै, ओएसआर रियालिटी युट्युब च्यानलमार्फत पनि सार्वजनिक हुँदै आएको छ।