सुचना, समाचार र मनोरन्जन

‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत

काठमाडौं :

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको कथासार झल्काउने उक्त गीत सार्वजनिक गरेको हो।

चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ। दुवै गायक ‘नेपाल आइडल’का विजेता हुन्। गंगाले यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा पार्श्व गायनमा डेब्यु गरेकी छन्। गीतले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाउन सफल देखिएको छ।

पतिपत्नीबीचको प्रेमकथामा आधारित गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीको भूमिकामा देखिएका छन्। फिल्मकै कथाअनुसार निर्माण गरिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियोमा विपीन र केकीको प्रेमिल दैनिकी, बिहानको पूजापाठदेखि खेतबारीको कामसम्मका दृश्य समेटिएका छन्।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन्। केकी र विपीनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षिता अर्याल, आरव बराल र सुपला सापकोटालगायतले अभिनय गरेका छन्।

निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरू उजागर गर्ने प्रयास गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन्। फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत,ओजस्वी ओझाको प्रोडक्सन डिजाइन,श्याम कुँवरको रंग संयोजन,सुजिल कर्माचार्यको पार्श्व संगीत,कविराज गहतराजको नृत्य निर्देशन, प्रकाश हमालको प्रोडक्सन हेड, बनिश शाहको सम्पादन सुपरभिजन र विपीन मल्लको सम्पादन रहेको छ। असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन्।

Leave A Reply

Your email address will not be published.