सुचना, समाचार र मनोरन्जन

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी,

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया तीव्र बनेको छ ।

सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले हाल नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा रहने प्रस्तावित बाँधस्थलसम्म जोड्ने पहुँचमार्ग खन्ने काम सुरु गरेको छ । कुल पाँच किलोमिटर ५०० मिटर लामो पहुँचमार्गमध्ये हालसम्म दुई किलोमिटर खण्डको काम सम्पन्न भइसकेको छ भने कर्मचारी आवासका लागि आवश्यक भवन समेत तयार भएको छ ।

आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईका अनुसार हाल विद्युत्गृह निर्माण स्थलसम्म सडक पुर्‍याउन र जमिन तयार पार्न पहाड काट्ने काम भइरहेको छ । ‘पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ,’ भट्टराईले भने । यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसको अनुमानित लागत एक अर्ब ८० करोड रुपैयाँ रहेको छ । आयोजनामा बाँधदेखि चार किलोमिटर २०० मिटर लामो पाइपलाइनमार्फत ल्याइने पानीलाई ४२० मिटरको उचाइबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिनेछ ।

आयोजनाका लागि आवश्यक पर्ने सम्पूर्ण जग्गा सार्वजनिक क्षेत्रमा पर्दछ । निर्माण स्थलमा पर्ने एक हजार ४०० रूखमध्ये ५४६ वटा कटानका लागि अनुमति प्राप्त भइसकेको छ भने बाँकी रूखका लागि प्रक्रिया अघि बढेको छ । वित्तीय व्यवस्थापनका लागि ग्लोबल आइएमई र माछापुच्छ्रे बैङ्कसँग प्रस्ताव गरिएको छ, जसमा कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहने व्यवस्था मिलाइएको छ । साथै आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको अवसर समेत प्रदान गर्ने भएको छ ।

जलविद्युत्को हब बन्दै गरेको नारच्याङ क्षेत्रमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच वटा आयोजना सञ्चालनमा आइसकेका छन् । वडाअध्यक्ष लोकबहादुर पुनका अनुसार घलेम्दीखोला, मिस्त्रीखोला, नीलगिरि–१ र २ तथा रेलेखोला आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । यसबाहेक ६६।३ मेगावाटको मध्य कालीगण्डकी निर्माणाधीन छ भने १८४ मेगावाटको कालीगण्डकी गर्ज आयोजना पनि निर्माणको तयारीमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.