काठमाडौं :
फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ। निर्माण पक्षले शुक्रबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्मको छायांकन पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट सुरु गरिएको हो।
शुभमुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो। निर्देशक सरोज पौडेलका अनुसार फिल्मको छायांकन तालिका ३५ दिनको तय गरिएको छ।
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीले निर्देशक पौडेलसँग यो दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि यो टिमले नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो। सोही फिल्मको सफलतापछि निर्देशक पौडेलले पुनः आफ्नो ‘लक्की’ टिमलाई लिएर नयाँ फिल्मको यात्रा सुरु गरेका हुन्।
फिल्मको लेखन निर्देशक पौडेल स्वयंले गरेका छन्। ‘सिन्दुरे जात्रा’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक पौडेलले प्रतिबद्धता जनाएका छन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।