काठमाडौं :
फिल्म ‘गौँथली’ को निर्माण पक्षले शुक्रबार दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्मको पहिलो झलक बाहिर ल्याएको छ। सार्वजनिक पोस्टरले फिल्म ग्रामीण समाज र पहाडी जनजीवनको कथामा आधारित रहेको प्रस्ट्याएको छ।
पहिलो पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला(बेहुलीको भेषमा देखिएका छन्। दौरासुरुवाल, ढाका टोपी र दुबोको मालामा सजिएका अरुणको हातको बनावट र पटुकीमा सिउरिएको गुलेलीले उनको पात्र शारीरिक रूपमा केही फरक (एबनर्मल) रहेको संकेत गर्छ। पोस्टरमा अरुणको मुहारमा जोस देखिए पनि सिम्रनको अनुहारमा भने तनाव झल्किएको छ।
दोस्रो पोस्टरमा सिम्रन खड्कालाई मात्र फिचर गरिएको छ, जहाँ उनी डोकोमा स्याउला बोकेर खाली खुट्टा हिँड्दै पढिरहेको अवस्थामा देखिन्छिन्। यसले बिहेपछि पनि घरको काम र पढाइलाई सँगै लैजान खोज्ने एक संघर्षशील नारीको कथालाई चित्रण गरेको छ।
डा। कपिल रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा अरुण र सिम्रनका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल लगायतका कलाकारको अभिनय रहेको छ। डा। भोला रिजालको कथा रहेको यस फिल्मलाई भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनले निर्माण गरेका हुन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने हरि हुमागाईंले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। दुई दशकअघि डा। भोला रिजालले निर्माण गरेको चर्चित ‘गीति फिल्म’ ९म्युजिकल फिल्म० ‘गौँथली’ कै नाममा अहिले उनका छोरा डा। कपिलले यो नयाँ फिल्म निर्देशन गरेका हुन्।
साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्दैछन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।