काठमाडौं :
चलचित्र विकास बोर्डले फ्रान्सको कान्स शहरमा जारी ७९औं कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्ड र बेलायतको शाही प्रोडक्सनसँगको सहकार्यमा स्थापना गरिएको उक्त स्टलको मुख्य उद्देश्य नेपाली चलचित्र, चलचित्रकर्मी, नेपालका छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई विश्व बजारसम्म पुर्याउनु रहेको बोर्डले जनाएको छ।
यसअघि बोर्डले मिति २०८२ फागुन २५ गते औपचारिक सूचना प्रकाशित गरी कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूबाट पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा आवश्यक विवरण माग गरेको थियो। सोही तयारी अनुरूप विभिन्न विधामा छनोट भएको नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ (Elephant in the Fog) लाई नेपाल स्टलमा सुरुदेखि नै प्राथमिकताका साथ समेट्ने तयारी गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोजनाका सन्दर्भमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्राप्त सुझाव, चासो र प्रतिक्रियालाई बोर्डले संस्थागत सुधार र आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, समावेशी एवं प्रभावकारी बनाउने अवसरका रूपमा लिएको जनाएको छ। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार, चलचित्रकर्मीको हकहित संरक्षण र नेपाली कथालाई विश्व मञ्चसम्म पुर्याउने अभियानमा आफू सधैं प्रतिबद्ध रहेको समेत प्रष्ट पारेको छ।