काठमाडौं :
आगामी जेठ १५ गतेबाट नेपाली तथा हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुम्भ’ को प्रचार–प्रसारलाई तीव्र पारिएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको राजविराजमा एक विशेष प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
सप्तरी कलाकार संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १५० भन्दा बढी स्थानीय कलाकार, सञ्चारकर्मी तथा समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रको आधिकारिक टिजर र गीतहरू सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । सो अवसरमा अभिनेता यादवले चलचित्र ‘कुम्भ’ को कथावस्तु र आफ्नो पात्रबारे जानकारी गराउँदै चलचित्रलाई सफल बनाउन गृह जिल्लाका दर्शक तथा स्थानीयवासीसँग सहयोग र समर्थनको अपिल गरे ।
कार्यक्रममा सप्तरी कलाकार संघका अध्यक्ष करण शर्मा र उपाध्यक्ष कामेश्वर परदेशीले चलचित्रको सफलताको शुभकामना दिँदै स्थानीय स्तरमा यसको प्रदर्शनलाई व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्रमुख अतिथि धनेश्वर यादवले नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रतिभा र मौलिक विषयवस्तुको आगमन सकारात्मक रहेको उल्लेख गर्दै चलचित्र सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सरोज आर्यन यादव र तेजनारायण शर्माले विशेष सहयोग गरेका थिए ।
एक्सन–ड्रामा जनरामा आधारित चलचित्र ‘कुम्भ’ मा अशोक आर्यन यादव, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का र अफ्सना थापा लगायतका नेपाली कलाकारहरूको मुख्य अभिनय रहेको छ । दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत विशेष अभिनय रहेको यस चलचित्रका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायाङ्कन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् भने गीतका शब्द पनि उनकै रहेका छन् । अनुप तिवारीको सङ्गीत, सम्राट बस्नेत र संजय थापाको द्वन्द्व निर्देशन रहेको चलचित्रमा रणधीर श्रेष्ठ र राजेश साह निर्माता तथा ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माताका रूपमा रहेका छन् ।