पोखरा,
स्थानीय उत्पादनको बजार विस्तार, सुस्त व्यापारलाई गति र लेखनाथ क्षेत्रको आर्थिक तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित २२औँ लेखनाथ महोत्सव आयोजना हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन छ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद स्थानीय उत्पादनको बजारीकरण र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले निजी क्षेत्रको मनोबल खस्किएको, लगानीमैत्री वातावरणको अभाव रहेको तथा अनुगमनका नाममा व्यवसायीले हैरानी खेप्नुपरेको उल्लेख गर्नुभयो। महोत्सव सिक्ने र सिकाउने थलोका रूपमा विकसित हुँदै अनौपचारिक विश्वविद्यालयको पहिचान बनाउन सफल भएको उहाँको भनाइ थियो।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि तथा सञ्चार उपकरणको प्रदर्शनी हुनेछ। स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी पनि गरिनेछ।
महोत्सवमा फुड फेस्टिभल, अटोमोबाइल तथा ग्रामीण प्रविधि प्रदर्शनी, कृषि, पर्यटन र उद्योगसम्बन्धी संवाद कार्यक्रमसमेत रहनेछन्। एसियाको ज्योति तथा शान्तिका दूत मानिने गौतम बुद्धको प्रतिमा महोत्सवको विशेष आकर्षणका रूपमा राखिने आयोजकले जनाएको छ।
सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य तथा कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ।
त्यस्तै, पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रिय कलाकारको लोकदोहोरी, हास्यव्यङ्ग्य कार्यक्रम, बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल र्याली तथा उत्कृष्ट स्टल पुरस्कार पनि महोत्सवका आकर्षण रहनेछन्।

महोत्सवमा कुल ३३५ स्टल रहनेछन्। तीमध्ये गार्मेन्ट तथा रेडिमेड कपडा र फुटवेयरका ११२, कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल २४, फुड एन्ड बेभरेजका १८, खाना महोत्सवका १७, हस्तकलाका १४, शैक्षिक, ग्रामीण प्रविधि तथा कृषि प्रदर्शनीका १३, डेरीका १३, मेसिनरीका १२, नेपाली उत्पादनका १०, अटो प्रदर्शनीका ६ तथा बैंक, वित्तीय संस्था र प्रायोजकका ३० स्टल रहनेछन्।
संघका सदस्यले आफ्नै स्टल राख्दा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप २ हजार रुपैयाँ छुट पाउनेछन्। सदस्यका लागि मंसिर ७ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११ गतेदेखि बुकिङ खुला गरिनेछ।
महोत्सवको प्रवेश टिकट विद्यार्थीका लागि ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ र सुगम संगीत कन्सर्टका लागि २०० रुपैयाँ तोकिएको छ।
आयोजकले महोत्सवमा करिब २ लाख ७० हजार दर्शक सहभागी हुने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेको छ। महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसबाट करिब २० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ।
बचत रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न १० जना निर्देशक, ५५ सल्लाहकार, ५० उपसमिति संयोजक, ९० कार्यसम्पादन समिति सदस्य, १२० मूल समारोह समिति सल्लाहकार र ३०० मूल समारोह समिति सदस्य रहने गरी समिति गठन गरिएको छ।
मुख्य प्रायोजक एग्रो थाई फुड्सका तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले स्वदेशी उद्योगले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँका अनुसार कम्पनीले पाँचवटा प्लान्ट जडान गरी ऊर्जा पेय उत्पादन थालेपछि आयातमा खर्चिने विदेशी मुद्रा जोगाउन सहयोग पुगेको छ। यसले तराईका उखु उत्पादक कृषकलाई लाभ, विद्युत् खपतमा वृद्धि तथा हजारौँ युवालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनुभयो।
धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गर्नुभएको थियो।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन्। सहआयोजकमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन्। पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर एनर्जी ड्रिङ्क) मुख्य प्रायोजक रहेका छन्।