सुचना, समाचार र मनोरन्जन

फिर्केखोलामा डोजर: ६२ करोडको करिडोर योजनाले पोखराको मुहार फेरिने दाबी

पोखराको बहुचर्चित फिर्केखोलामा अतिक्रमित संरचना हटाउन डोजर चलेसँगै अब महानगरले खोलालाई आधुनिक “नदी–करिडोर” का रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अवधारणाअनुसार फिर्केखोलालाई हरित, स्वच्छ र पर्यटकीय सार्वजनिक क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

महानगरका अनुसार करिब ६२ करोड रुपैयाँ लागत अनुमान गरिएको “फिर्के करिडोर परियोजना” लाई एशियाली विकास बैंक ले २०८० सालमै स्वीकृति दिइसकेको थियो । तर, खोलाको दायाँबायाँ अतिक्रमण हटाउन नसक्दा परियोजना अघि बढ्न सकेको थिएन ।

अब अन्धेरिकुनादेखि फेवाताल–गाईघाटसम्म फैलिएको करिब ८ किलोमिटर क्षेत्रमा खोलाको दायाँ–बायाँ ६–६ मिटर खाली गराएर करिडोर निर्माण गरिने महानगरले जनाएको छ ।

परियोजनाअन्तर्गत फिर्केखोलाको किनारमा पदमार्ग, साइकल लेन, हरियाली क्षेत्र, विश्रामस्थल, सेल्फी पोइन्ट, खुला क्याफे तथा सांस्कृतिक संरचना निर्माण गर्ने योजना छ । त्यसैगरी वातावरणमैत्री एलईडी लाइटिङ, ढुंगे तटबन्ध तथा बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र पनि निर्माण गरिने बताइएको छ ।

महानगरले यो परियोजनालाई केवल खोला संरक्षणमा सीमित नराखी “जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य” बनाउने अवधारणासहित अघि बढाएको जनाएको छ ।

मेयर आचार्यले दक्षिण कोरियाको सिओल मा रहेको चेओङ्येचेन नदी पुनर्जीवन परियोजनालाई उदाहरण दिँदै पोखरामा पनि त्यस्तै मोडल लागू गर्न खोजिएको बताएका छन् । उनका अनुसार प्रदूषित र अतिक्रमित नदीलाई पुनर्जीवन दिएर विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना पोखरामा पनि रहेको छ ।

हाल फिर्केखोला अत्यधिक प्रदूषण, फोहोर व्यवस्थापनको अभाव र अतिक्रमणका कारण संकटमा परेको छ । खोलाभित्र १६० भन्दा बढी संरचना बनेपछि प्राकृतिक बहाव अवरुद्ध भएको र वर्षायाममा बाढी बस्तीमा पस्ने जोखिम बढेको महानगरको भनाइ छ ।

परियोजनाअन्तर्गत खोलालाई पूर्ण रूपमा फोहोरमुक्त बनाउने, वर्षभर सफा पानीको बहाव कायम गर्ने तथा हिउँदमा याम्दी खोलाको पानी मिसाएर बहाव जीवन्त राख्ने योजना पनि समावेश गरिएको छ ।

महानगरका अनुसार करिडोर निर्माण सम्पन्न भएपछि फिर्केखोला केवल पानी बग्ने खोला मात्र नभई पोखरेलीको दैनिकी, स्वास्थ्य, पर्यटन, मनोरञ्जन र हरित भविष्यसँग जोडिएको सार्वजनिक सम्पत्तिका रूपमा विकास हुनेछ ।

Leave A Reply

Your email address will not be published.