पोखरा,
नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को पहलमा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा आयोजित तीनदिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। ग्रामीण पर्यटनलाई व्यवस्थित, आकर्षक र दीगो बनाउने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा विभिन्न गाउँका ४० जना होमस्टे सञ्चालक सहभागी भएका थिए।
पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको समन्वयमा भएको कार्यक्रममा सहभागीलाई पाहुना सत्कारदेखि सरसफाइ, होमस्टे सञ्चालन, स्थानीय संस्कृतिको संरक्षण र पर्यटन सेवाको गुणस्तर अभिवृद्धिसम्मका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। तालिममा पर्यटन क्षेत्रका विज्ञहरूले व्यवस्थापन, हाउसकिपिङ र सांस्कृतिक प्रस्तुतीकरणबारे सहजीकरण गरेका थिए।
तालिममा पुरानकोट, नाल्मा, तुर्लुङकोट, काउलेपानी तथा नरुवाल मगर होमस्टेका सञ्चालकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सेवा स्तर सुधार गर्न, पर्यटक आकर्षित गर्न र गाउँमै रोजगारी तथा आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै यशोदा रिमाल ले होमस्टे ग्रामीण समृद्धिको प्रभावकारी आधार बन्न सक्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेशभर सञ्चालनमा रहेका होमस्टेहरूको स्तरीकरण गर्ने तयारी भइरहेको जानकारी दिँदै स्तरीकृत होमस्टेलाई वेबसाइटमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने योजना सुनाउनुभयो।
मन्त्री रिमालले कृषि र पर्यटनलाई जोड्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँघरमा उत्पादन हुने अर्गानिक परिकार, स्थानीय संस्कृति, परम्परा र जीवनशैली नै पर्यटकका लागि मुख्य आकर्षण बन्न सक्ने धारणा राख्नुभयो।
त्यसैगरी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश का प्रमुख मणिराज लामिछाने ले ग्रामीण पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै सिकेका सीप व्यवहारमा उतार्न सके पुरानकोट क्षेत्र उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटनकर्मी तथा होमस्टे सञ्चालकहरूले ग्रामीण पर्यटनले स्थानीय उत्पादन, संस्कृति संरक्षण र समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए।